युवासंघका अध्यक्ष बस्नेत रिहा हुन मानेनन्/दिनभर राजधानी तनावग्रस्त

16/06/2011 10:55

काठमाडौं, अषाढ २ - पार्टी सम्बद्ध नेताहरुले गृहमन्त्रीसँग रिहा गर्ने सहमति गरे पनि युवा संघका अध्यक्ष महेश बस्नेत रिहा हुन मानेनन् ।

रानीस्थित प्रहरी तालिम केन्द्रबाट प्रहरीले छाड्ने प्रक्रिया पूरा गरे पनि 'आफूलाई किन पक्राउ गरियो ? किन छाड्ने ?' भन्दै अड्डी लिएर उनी रिहा हुन मानेनन् ।

रिहाको खबरपछि तालिम केन्द्र अगाडि सयौं युवा संघका कार्यकर्ता पुगेका छन् । उनले पत्रकार खिलानाथ ढकाललाई कुट्न योजनाकार भनिएका पर्शुराम बस्नेतको मुद्धा फिर्ता लिनसमेत माग गरेका छन् ।

बस्नेतले पूर्वाग्रही भएर पक्राउ गर्ने र छाड्ने 'रवैया' भएको भन्दै शुक्रबारको नेपाल बन्द पनि यथावत रहने बताएका छन् । तर सहमति गरेर बस्नेतलाई रिहा गर्न राति अबेरसम्म पनि वार्ता जारी छ ।

यसअघि गृह मन्त्रालयमा साँझ भएको वार्तामा बस्नेतलाई छाड्ने सहमति भएको थियो । सहमतिपछि युवा संघले शुक्रबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिने निर्णय गरेको थियो ।

प्रहरीले एमाले भातृ संगठन युवा संघका अध्यक्ष वस्नेतलाई इटहरीस्थित रिभरसाइड रिसोर्टमा पत्रकार सम्मेलन गरिरहेकाबेला पक्राउ गरेर विराटनगरमा पुर्‍याएको थियो ।

गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरासँग भएको वार्तामा युवा संघका तीन वटै माग सरकारले पूरा गरेको छ ।

बस्नेतसहितका युवा संघका नेतालाई बिहीबार नै रिहा गर्ने,  प्रहरीको बल प्रयोगबारे छानबिन समिति गठन गर्ने र घाइतेको उपचार सरकारले गर्ने सहमति भएको एमाले युवा विभाग प्रमुख एवं केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।

गृहमन्त्रीले बिहीबार नै युवा संघलाई वार्ता आहृवान गरे पनि उनीहरुले बरिष्कार गरेका थिए । प्रधानमन्त्री झलनाथ खनालले भट्टराईलाई वार्तामा बसेर जारी तनाव अन्त्य गर्न निर्देशन दिएपछि वार्ता भएको थियो ।

राजधानीको शंकरदेव क्याम्पसमा भएको प्रदर्शनमा नरहेका विद्यार्थीलाई प्रहरीले 'अति' दमन गरेको छ ।

एमाले निकट युवा संघ नेपालका अध्यक्ष महेश वस्नेतलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले विरोध प्रदर्शनको तयारी गरिरहेकाबेला क्याम्पसभित्रै पसेको प्रहरीले विद्यार्थीलाई जथाभावी कुटेको थियो ।

शंकरदेव क्याम्पसबाट निस्केका अखिल विद्यार्थीको एक हुलले गाडी जलाएर पुनः क्याम्पसमा प्रवेश गरेपछि प्रहरी खेद्दै क्याम्पसभित्र पसेको थियो ।

आगो निभाउने प्रयास गरेका प्रहरीमाथि क्याम्पसबाट ढुङ्गा हानिएपछि त्यहाँ तनाव भएको हो । प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

त्यसक्रममा चार जना प्रहरीले वरीपरी बसेर एउटै विद्यार्थीलाई निर्मम कुटिरहेका देखिन्थे । प्रहरीले छात्रालाई घेरा हालेर जथाभावी कुटेको छ । ढोका थुनेर कक्षाकोठामा बसेका विद्यार्थीलाईसमेत 'ढोका खोल्' भन्दै भित्रै पसेर कुटेका छन् ।

अनेरास्ववियुका अनुसार प्रहरी कुटाईबाट एक सयभन्दा बढी विद्यार्थी घाइते भएका छन् । प्रहरीले भाग्न खोजेका विद्यार्थीलाई समेत घिसार्दै कुटेको देखिन्थ्यो ।

मुख्य गेटसमेत थुनेर विद्यार्थीमाथि निर्मम कुटपीट भएपछि लाठीचार्ज रोक्न प्रहरीलाई आग्रह गर्न पुगेका स्ववियु सभापति शुभराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

'म आन्दोलनकारी होइन, कलम कापी बोकेका विद्यार्थीलाई जभाभावी नकुट' भन्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले विद्यार्थीलाई मुल गेट थुनेर कुट्न थालेपछि भागदौड मच्चिएको थियो ।

प्रहरीको 'हदै' कुटेपछि केही छात्राहरु गेट बाहिर सडकमा बसेर रोएका थिए । 'हामी कुनै पनि दलमा थिएनौं,' एक छात्राले भनिन्, 'भन्दा भन्दै पनि कुरै नसुनी चुट्नसम्म चुटे ।'

 

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment