नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला धुलिखेलमा

11/06/2011 17:04

२८ जेठ, काठमाडौं । पार्टी महामन्त्री प्रकाशमान सिँहको असन्तुष्टिका बाबजुत नेपाली काँग्रेस जिल्ला सभापतिहरुको दुई दिने राष्ट्रिय भेला आजबाट काभ्रेको धुलिखेलमा सुरु हुदै छ । धुलिखेलस्थित लज रिसोर्टमा सुरु हुने भेलाको आज मध्यान्ह पार्टी सभापति शुशिल कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केहि समयअघि सम्पन्न केन्द्रीय समिति बैठकपछि सभापति शुशिल कोइरालासँगको परामर्शमा महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेला बोलाउनुभएको हो ।

भेलामा काँग्रेसले राख्दै आएको १० बुँदे सर्त, तीन दलबीच भएको पाँच बुँदे सहमती, पार्टीको आन्तरिक विवादका विषयमा कुराकानी हुने छ ।

यस्तै भेलामा पार्टीको विधान संशोधनका विषयमा सभापतिहरुले आ आफ्नो धारणा राख्नेछन् । पार्टी सभापति तथा जिल्ला सभापतिहरुको अधिकार क्षेत्र बढाउने विषयमा पनि बहस उठ्ने बताइएको छ ।

विधानमा उल्लेख निर्वाचित कार्यसमितिका सदस्यबाट सभापतिले उपसभापति र सचिव मनोनयन गरी कार्यसमितिको बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्थाले आफुहरु अप्ठ्यारोमा पर्ने भन्दै जिल्ला सभापतिहरुले विधान संशोधनको कुरा उठाउने तयारी गरेका छन् ।

केन्द्रले निर्माण गरेका नीति नियम र कार्यक्रम जिल्लामा कार्यान्वयन गर्न विधानले केहि मात्रामा अंकुश लगाएको जिल्ला सभापतिहरुको निश्कर्ष छ ।

भेलामा केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु र केन्द्रीय कार्यालयका कर्मचारी गरी १ सय ६० जनाको सहभागिता रहने काँग्रेसले जनाएको छ ।

सोर्स: सोलिडारिटी खबर

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment