बागलुङ नगरपालिका ‘खुल्ला दिसामुक्त नगर’ घोषणा हुन अझै २ बर्ष लाग्ने

15/06/2011 01:38

बागलुङ असार १ । बागलुङ नगरपालिकालाई सन् २०१३ सम्ममा खुल्ला दिसामुक्त नगर घोषणा गरिने समाचार सार्वजनिक भएको छ । नगरपालिकालाई छुवाछुत मुक्त घोषणा भने यस अघि नै गरिएको थियो र अब बागलुङ नगरलाई काकाकुल मुक्त क्षेत्र घोषणाको समय सीमाको निश्चितता कहिले सम्म भन्ने जिज्ञासा नगरवासीमा छ ।

नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न गठन गरिएको नगर सरसफाई समन्वय समितिको मंगलबार बसेको बैठकले सन् २०१३ सम्ममा बागलुङ नगरलाई खुल्ला दिसामुक्त नगर घोषणा गर्ने निर्णय गरेको हो ।

नगरपालिका कार्यालयका कार्यकारी अधिकृत मुकुन्द शर्माको अध्यक्षतामा बसेको बैठकले नगरलाई खुल्ला दिसामुक्त नगर घोषणा गर्नका लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने गरी काम कार्वाही अघि बढाउने निर्णय गरेको नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

‘हाम्रो लक्ष्य भनेको सन् २०१३ सम्ममा बागलुङ नगरपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नेनै हो’ योजना अधिकृत सुवेदीले भने- ‘मंगलबारको बैठकमा यहि बिषयमा छलफल भयो र आवश्यक पूर्वाधारहरु तयार गर्ने निर्णय गरिएको छ ।’

बैठकमा नगरपालिकाको हालको अवस्थाको बारेमा पनि समिक्षा गर्दै खुल्ला दिसामुक्त नगर घोषणाका लागि भावी कार्ययोजनाको बारेमा छलफल भएको थियो ।

बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायको समेत सहभागिता रहेको थियो । सहभागिहरुले नगरलाई खुल्ला दिसामुक्त नगरको रुपमा बिकास गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया..!!

No comments found.

New comment